• शनिबार मङ्सिर-१३-२०८३

त्रिवि प्राध्यापक डा. निरञ्जन पराजुलीको राजीनामा

पढ्न लाग्ने समय 1 मिनेट

काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरका रसायनशास्त्र विषयका प्राध्यापक डा. निरञ्जन  पराजुलीले हालै आफ्नो पदबाट राजीनामा दिएका छन्। सात वर्षको आफ्नो कार्यकालमा डा. पराजुलीले शैक्षिक र अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान गर्दै ५ जना पिएचडी र करिब ८० जना मास्टर्स विद्यार्थीलाई शोध निर्देशन गरेका छन्। उहाँले चारवटा वृहतस्तरका अनुसन्धान परियोजनाहरू पनि सफलतापूर्वक सम्पन्न गरेका छन्।

डा. पराजुलीले त्रिविको शैक्षिक सुधार र नेपालको उच्च शिक्षाको स्तरोन्नतिका लागि महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँ विभिन्न सुधार समितिमा संलग्न रहँदै नीति निर्माणमा योगदान पुर्‍याउनुभएको छ। साथै, मिडिया तथा अन्य प्लेटफर्ममार्फत आफ्नो विचार प्रस्तुत गर्दै शिक्षा प्रणालीको सुधार र राजनीतिक हस्तक्षेपको अन्त्यको लागि आवाज उठाउँदै आउनुभएको थियो।

राजीनामापछि आफ्नो अनुभव बाँड्दै डा. पराजुलीले त्रिविमा बिताएको समयलाई अत्यन्त सन्तोषजनक र गर्वको रुपमा स्मरण गरेका छन्। "त्रिविमा काम गर्न पाउनु मेरा लागि जीवनको महत्वपूर्ण अवसर रह्यो। मैले मातृभूमिका लागि आफ्नो ज्ञान र सिप प्रयोग गर्न पाएकोमा उच्च आत्मसन्तुष्टि प्राप्त गरेको छु," उहाँले भन्नुभयो।

तर, उहाँले शिक्षा क्षेत्रमा रहेको राजनीतिक हस्तक्षेपप्रति असन्तोष व्यक्त गर्दै शैक्षिक वातावरणलाई प्राज्ञिक र स्वच्छ बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। "शिक्षा भनेको केवल सैद्धान्तिक ज्ञान होइन, यसले राष्ट्र निर्माणको लागि वातावरण सिर्जना गर्नुपर्छ। यसका लागि राजनीतिक हस्तक्षेप अन्त्य हुनु अत्यावश्यक छ," उहाँले आफ्नो धारणा प्रकट गरे।

डा. पराजुलीको राजीनामा शिक्षाविद्, विद्यार्थी र सहकर्मीका लागि ठूलो क्षति भएको विश्वास गरिएको छ। उनका विद्यार्थीहरूले उहाँलाई कुशल मार्गदर्शक, प्रेरणादायी शिक्षक, र उच्चकोटीको अनुसन्धानकर्ता भनेर वर्णन गरेका छन्।

त्रिविमा आफ्नो समयको महत्त्वपूर्ण योगदान दिएपछि डा. पराजुली अब नयाँ अवसरहरू र चुनौतीहरूतर्फ अग्रसर हुने संकेत दिएका छन्। उहाँको राजीनामा त्रिविमा मात्र नभई नेपालको समग्र शैक्षिक क्षेत्रमा चर्चाको विषय बनेको छ।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑