• बुधबार कार्तिक-१२-२०८३

२५ करोड मौरी भागेपछि अमेरिकाको वासिङ्टनमा सावधानी अपनाउन प्रहरीले चेतावनी जारी

पढ्न लाग्ने समय 1 मिनेट

वासिङ्टन, अमेरिका —
अमेरिकाको वासिङ्टन राज्यमा ट्रक दुर्घटनापछि २५ करोड मौरी भागेपछि स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार वासिङ्टन राज्यको उत्तरपश्चिम क्षेत्रमा, क्यानाडाको भ्यानकुभरबाट करिब ३० माइल टाढा, एउटा सेमी ट्रेलर ट्रक दुर्घटना हुँदा मौरी बोकेको सयौं घारबाट मौरीहरू एकै पटक भागेका हुन्।

ट्रक पल्टिँदा मौरीहरू छरपस्ट भएर बाहिर निस्किएपछि स्थिति नियन्त्रणबाहिर पुगेको बताइएको छ। अधिकारीहरूका अनुसार मौरीहरू आक्रोशित अवस्थामा झुम्मिन सक्छन् र मानवीय उपस्थितिलाई खतरा मान्दै आक्रमण गर्न सक्छन्। यही कारणले गर्दा उक्त क्षेत्रमा सर्वसाधारणलाई नजान र सतर्क रहन भनिएको छ।

सुरक्षा उपाय स्वरूप घटनास्थल आसपासको सडक बन्द गरिएको छ भने मौरी विशेषज्ञहरू सफाइ र नियन्त्रणका काममा खटिएका छन्।

वासिङ्टन राज्यमा मौरीपालन मह उत्पादनका लागि मात्र नभई कृषकहरूलाई बाली परागण गर्नका लागि पनि महत्त्वपूर्ण छ। किसानहरूले मौरीको घार भाडामा लिएर आफ्नो बाली उत्पादनमा वृद्धिका लागि प्रयोग गर्ने गरेका छन्।

घटनाको थप अनुसन्धान भइरहेको छ भने कुनै मानवीय क्षतिको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रहरी र मौरी विशेषज्ञहरूले बासिन्दालाई मौरीको झुण्ड देखिएमा त्यसबाट टाढा रहन र तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑