केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
पढ्न लाग्ने समय 1 मिनेट
काठमाडौं विश्वविद्यालय (केयु)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। बुधबार साँझ ६ः५० बजे काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको केयुका उपकुलपति विवेक बरालले जानकारी दिए।
सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए। उनले जुम्ला, दोलखाको जिरी र धनकुटालगायतका क्षेत्रमा प्राविधिक शिक्षाको विस्तारमा समेत योगदान पुर्याएका थिए।
काठमाडौं विश्वविद्यालय स्थापनाको प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका शर्मा विश्वविद्यालयका संस्थापक उपकुलपति बनेका थिए। उनी सन् १९९१ देखि २०१२ सम्म निरन्तर उपकुलपति रहे। यस अवधिमा विश्वविद्यालयको संस्थागत विकास र विस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको थियो। पछिल्लो समय उनी काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए।
शर्माले नेपाल, भारत र बेलायतका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। उनले बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका थिए। विद्यालयदेखि उच्च शिक्षासम्म नेपालको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएका उनले बुढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए।
शर्माको पार्थिव शरीरमा शिक्षा मन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालगायत विभिन्न व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गरेका छन्।
पारिवारिक स्रोतका अनुसार शर्माको अन्त्येष्टि बिहीबार गरिनेछ। अन्तिम संस्कारअघि उनको पार्थिव शरीर काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, बालकुमारीमा राखिनेछ। त्यहाँ परिवारजन, सहकर्मी, विद्यार्थी तथा शुभेच्छुकले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।
शर्माका चार छोरी छन्। उनकी श्रीमती र एक छोरीको यसअघि नै निधन भइसकेको थियो।
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
-
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
-
२०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
-
केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
-
धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान





प्रतिकृया दिनुहोस