धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान
पढ्न लाग्ने समय 3 मिनेट
धुलिखेल नगरपालिका–२ मा रसायन प्रयोग नगरी खानेपानी शुद्धीकरण गर्ने आधुनिक प्रविधि जडान गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) अन्तर्गतको रिसर्च सेन्टर फर इन्भाइरोन्मेन्टल साइन्सेस र धुलिखेल नगरपालिकाको सहकार्य तथा समन्वयमा स्थापना गरिएको खानेपानी प्रशोधन केन्द्र शुक्रबार धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको हो।
नास्टकी वरिष्ठ वैज्ञानिक अधिकृत डा. टिष्टा प्रसाईं जोशीका अनुसार नेपालमा पहिलोपटक यस प्रकारको रसायनरहित पानी शुद्धीकरण प्रविधि भित्र्याइएको हो। चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको रिसर्च सेन्टर फर इन्भाइरोन्मेन्टल साइन्सेसको अनुदानमा स्थापना गरिएको प्रशोधन केन्द्रले दैनिक अधिकतम एक लाख ५० हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्छ। यसबाट धुलिखेल नगरपालिका–२ का करिब एक हजार दुई सय परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ। उपकरण तथा प्रविधिको लागत करिब दुई करोड रुपैयाँभन्दा बढी रहेको डा. जोशीले जानकारी दिइन्।
प्रशोधन केन्द्रले पानीमा रहेका जीवाणु तथा अन्य सूक्ष्मजीवलाई निष्क्रिय गर्नुका साथै धमिलो पानीलाई सफा बनाउन सहयोग गर्नेछ। पानी शुद्धीकरण प्रक्रियामा इलेक्ट्रोड, म्याग्नेटिक स्यान्ड र अल्ट्राभायोलेट (यूभी) लाइट प्रयोग गरिने नास्टले जनाएको छ। रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्न सकिने भएकाले ग्रामीण तथा पर्याप्त प्रशोधन सुविधा नपुगेका क्षेत्रमा यो प्रविधि उपयोगी हुने डा. जोशीको भनाइ छ। उनका अनुसार श्रीलङ्का, अफ्रिका लगायतका मुलुकमा समेत यस प्रविधिको प्रयोग सफलतापूर्वक भइरहेको छ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङले नेपाल र चीनबीचको सम्बन्ध परम्परागत मित्रतामा आधारित रहेको बताए। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै मुलुकले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले नेपालको विकास र समृद्धिका लागि चीनको सहयोग निरन्तर रहने बताए। विपद्पछि सुरक्षित खानेपानीको व्यवस्था पनि महत्वपूर्ण विषय भएको बताउँदै राजदूत झाङले चीनमा प्रयोग हुँदै आएका आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालमा सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउनेतर्फ सहकार्य भइरहेको बताए। आगामी दिनमा नेपालका अन्य क्षेत्रमा पनि यस्ता परियोजना विस्तार गर्दै स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच बढाउन नेपाल र चीनबीच सहकार्य हुने उनले बताए।
नास्टका विज्ञान संकाय प्रमुख डा. बुद्धराम साहले नेपालमा स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न वैज्ञानिक प्रविधि र अनुसन्धानमा आधारित सहकार्य आवश्यक रहेको बताए। पानी तथा जलस्रोतको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले खानेपानी शुद्धीकरण र सुरक्षामा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो। उनले चीनको सहयोगमा नास्टको मोलिक्युलर प्रयोगशालामार्फत भोटेकोशी बाढीमा परी निधन भएका व्यक्तिहरूको डीएनए परीक्षण भइरहेको जानकारी दिँदै उक्त सहयोगका लागि चिनियाँ राजदूत झाङलाई धन्यवादसमेत दिए।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निरञ्जन जङ्गमले यस परियोजनाले धुलिखेल र चीनबीचको सम्बन्ध तथा सहकार्यलाई थप विस्तार गर्न सहयोग पुग्ने बताए। परियोजना धुलिखेलमा ल्याउन पहल गरेकोमा नास्ट र डा. टिष्टा प्रसाईं जोशीलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि यस्ता वैज्ञानिक तथा प्राविधिक सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
जङ्गमले धुलिखेलबाट चीनको सीमा क्षेत्र करिब एक सय किलोमिटर मात्र टाढा रहेको उल्लेख गर्दै दुई देशबीचको व्यापार तथा आवागमनका लागि सम्बन्धित नाका सञ्चालनमा ल्याउन चिनियाँ राजदूतसमक्ष आग्रहसमेत गरे। उनले धुलिखेल र चीनबीचको भौगोलिक तथा ऐतिहासिक सम्बन्धलाई विकासका नयाँ अवसरसँग जोड्न यस्ता सहकार्य महत्वपूर्ण हुने बताए।
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
-
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
-
२०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
-
केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
-
धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान





प्रतिकृया दिनुहोस