त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
पढ्न लाग्ने समय 1 मिनेट
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष तथा रजिस्ट्रार नियुक्त गर्नुभएको हो।
नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ। शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान संकायकी प्राध्यापक हुनुहुन्छ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त हुनुभएको छ।
यस्तै, मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त हुनुभएको छ।
नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क, समन्वय र प्रभावकारी कार्यसम्पादनमा जोड दिन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो। उहाँले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो।
मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट, अनुसन्धानमुखी र परिणाममुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कार्यसम्पादनलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने तथा विश्वविद्यालयको संस्थागत क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय कायम गर्दै गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभयो।
पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी इमानदारी र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो।
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
-
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
-
२०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
-
केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
-
धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान





प्रतिकृया दिनुहोस