• बुधबार कार्तिक-१२-२०८३

भोटेकोशी बाढीपीडितका लागि मेयर महेश खरेलद्वारा २० लाख सहयोग

पढ्न लाग्ने समय 2 मिनेट

पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. २ का सभापति महेश खरेलले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेका छन्।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मेयर खरेलले आफ्नो सेवा–सुविधाबाट २० लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका हुन्। उनले निर्वाचनका क्रममा आफूले गरेको १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धताअनुसार उक्त सहयोग गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खरेलले बाढीका कारण धेरै परिवारको खुशी खोसिएको, घरबार उजाडिएको तथा मानिसहरूले अपूरणीय पीडा भोग्नुपरेको उल्लेख गरेका छन्। विपत्तिको यस्तो दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्नु सबैको मानवीय दायित्व भएको उनको भनाइ छ।
खरेलले भनेका छन्, “यो कुनै ठूलो सहयोग होइन। जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनतामै फर्काउने मेरो प्रयास मात्र हो।” उनले आफ्नो बाँकी तलबसमेत यस्तै मानवीय सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीका कारण पाँचखाल नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको तथा चार जना अझै सम्पर्कविहीन रहेको खरेलले बताएका छन्। भोटेकोशी क्षेत्रमा आएको विपत्तिले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै उनले पीडित परिवारलाई सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।
“आज भोटेकोशीमा परेको पीडा भोलि हाम्रो घर–आँगनमा पनि आउन सक्छ,” खरेलले भनेका छन्, “त्यसैले यो विपत्तिको समयमा कोही पनि एक्लो महसुस गर्न नपरोस्। दुःखमा साथ दिऔँ, आँसुमा हात दिऔँ र सकेको सहयोग गरौँ।”
मेयर खरेलको यो सहयोगको पाँचखालका स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूले प्रशंसा गरेका छन्। उनीहरूले जनप्रतिनिधिले आफ्नो व्यक्तिगत आम्दानीबाट विपत्तिमा परेका नागरिकका लागि गरेको सहयोग सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण भएको बताएका छन्।
खरेलले यसअघि २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि भूकम्पपीडितका लागि सहयोग गरेका थिए। विपत्तिका समयमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएका खरेलको पछिल्लो कदमले जनप्रतिनिधिको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई पुनः उजागर गरेको स्थानीयको भनाइ छ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यसँगै नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेको खरेलले बताएका छन्। उनले सबैलाई आ–आफ्नो क्षमताअनुसार पीडितको साथमा उभिन आग्रह गरेका छन्।
“विपत्तिमा पीडितको साथमा उभिनु नै सच्चा मानवता हो,” खरेलले आफ्नो सन्देशमा भनेका छन्।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑